नियम २१
समितिको कोष
(१) समितिको एउटा छुट्टै कोष हुनेछ र त्यस्तो कोषमा देहायका रकमहरू रहनेछनः–
(क) नियम १६ को खण्ड (ङ) बमोजिम उपभोक्ता समितिले तोकेबमोजिमको शुल्क,
(ख) नियम २९ को उपनियम (१) बमोजिम समितिलाई प्राप्त हुने रकम,
(ग) कुनै संघ, संस्था वा व्यक्तिबाट प्राप्त हुने रकम,
(घ) सामुदायिक वनबाट प्राप्त हुने रकमबाट परिषद्ले तोकेको रकम,
(ङ) वन पैदावार उपभोगबाट प्राप्त रकम,
(च) गैरकाष्ठ वन पैदावार र जडीवुटी उपभोग गर्न सिफारिस दिएवापत प्राप्त हुने रकम,
(छ) अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम ।
(२) कुनै संघ संस्थाबाट कुनै किसिमको सहयोग प्राप्त भएमा सो कुराको जानकारी यथाशीघ्र परिषद्लाई दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम जम्मा हुने रकम कुनै वाणिज्य बैंकमा खाता खोली राख्नु पर्नेछ र त्यसको संचालन समितिको अध्यक्ष तथा कोषाध्यक्षको संयुक्त दस्तखतबाट हुनेछ ।